काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुका लागि एकदमै खुःशीको खबर आएको छ । नेपालमा फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको खुल्न आएको छ ।
लकडाउनअघि देखि नै फेसबुकले वर्ल्डलिंकसँग सहकार्य सुरु गरेको थियो । तर यसलाई भर्खरै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिनुभयो । अग्रवालका अनुसार वर्ल्डलिंकले १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेको छ । सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी फेसबुकसँग सहकार्य भएको उहाँले जानकारी गराउँनुभयो ।
फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी वर्ल्डलिंकको छ । वर्ल्डलिंकको निःशुल्क वाइफाइमा यसअघि प्रयोगकर्ताले हरेकपटक मोबाइलमा एसएमएसमार्फत् अथेन्टिकेसन गर्नुपर्नेमा अब एकपटक गरेपछि जतिपटक पनि इन्टरनेटमा कनेक्ट गर्न सकिन्छ । उहाँका अनुसार यो सफ्टवेयरको प्रयोगले निःशुल्क वाइफाई हटस्पटको इन्टरनेट गुणस्तर पनि अभिवृद्धि गर्छ ।
हालै फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको हो । फेसबुकको यो परियोजना एसियाका दुई मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ । योबाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका दुई, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको एक देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ । यो परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्याउने काम गरिरहेको छ ।