महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा आज देखि दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
आज सोमवारदेखि बेदकोट नगरपालिका–४ बैतडास्थित बाल ज्योति माध्यमिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
बेदकोट नगरपालिकाको आयोजना तथा बालज्योति माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको शिक्षक छविराज जोशीले बताए ।
संघीय सांसद नर बहादुर धामीले प्रतियोगिताको उद्घाटन गरेका थिए । सोमवारदेखि सुरु भएको प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा नगरपालिकाकाभित्रका १२ सरकारी तथा ६ निजी विद्यालय गरी १८ विद्यालयको सहभागिता रहेको छ । एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते लगायतका खेलहरु समावेश गरिएका छन् ।
विभिन्न खेलमा गरी ६ सय विद्यार्थीको सहभागिता प्रतियोगितामा रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिने छ ।
गत वर्ष बेदकोट–९ चथरीस्थित रत्न माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय जडेपानी प्रथम भएको थियो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सांसद लालबहादुर खडका, नगरप्रमुख लगायत शिक्षा क्षेत्रका व्यक्तिहरु लगायतको सहभागीता उद्घाटन समारोह समापन भएको थियो ।