|  

उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व मनाइयो

१७ कार्तिक २०७६, आईतवार १४:१० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


जनकपुरधाम । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन्। मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ। सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ। छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो। रासस

१७ कार्तिक २०७६, आईतवार १४:१०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल