काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
दोलखाको सैलुङ गाउँपालिकास्थित मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइपुगेपछि अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
रासस समाचार अनसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् ।
उद्धार जारी रहेकाले मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनाग्रस्त बस सुनकोसी खोलामा डुबेको हो । सो बसले ४० जना भन्दा बढी यात्रु बोकेर राजधानी जाँदै गरेको प्रत्यक्षदर्शीले बताएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ ।
तीव्र गतिका कारण सो बस अनियिन्त्रत भई दुर्घटना भएको जिप्रकाले बताएको छ । मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु भेटिएको छैन ।
घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र ,खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।