|  

सधैं विवादको भूमरीमा महाकाली अस्पताल

२ बैशाख २०७७, मंगलवार २३:२७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


हेमबाबु लेखक
डाक्टरमाथि हातपात, विशेषज्ञ डाक्टरहरुलाई बस्ने वातावरण नहुनु, रेफर सेन्टरका रुपमा परिभाषित हुने गरेको र कुनैबेला सधैंजसाे उपेक्षित रहिआएको कञ्चनपुरको महाकाली अस्पताल पछिल्लो केही समययता राम्रो गतिमा अगाडि बढिरहेको थियो । कञ्चनपुरका सचेत युवाहरुकाे दृढ इच्छाशक्तिले अत्यन्तै छाेटाे समयमा उल्लेख्य प्रगतिको नतिजा पनि देखिने क्रममा थियो ।

तर त्यही अस्पताल फेरि पनि केही अमानुसहरुकाे छत्रछायामा हुर्केकाहरुकाे कुटिल चक्रब्यूहमा परेको छ यतिबेला । नागरिक स्वयं जागरुक भएर लागिरहदा अस्पतालभित्रका केही थान कर्मचारी र मेडिकल माफियाका हर्कतमा भएको यस्ताे घटनाले नागरिकका अस्पताल सुधारका सपना तुहाउने संघारको सुरुआत गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट अस्पताल प्रशासनले खरिद गरेको वेन्टिलेटर पाँच वर्ष पुरानो(2015)माेडेलकाे हुनु, खिया लागेको हुनु, यसअघि नै प्रयोगमा आइसकेकाे हुनु, सम्झौता बिना नै जिम्मेवारी प्राप्त काठमाडौंकाे आरजे सप्लायर्सले त्यस्ता सेकेन्डह्यान्ड उपकरण अस्पतालमा ल्याइपुर्‍याउनुले अस्पताल प्रशासनभित्र कस्ता मान्छेकाे हालीमुहाली छ भन्ने सत्य पुष्टि गरेको छ ।

पुरानो वेन्टिलेटर खरिदमा देखिएको विवादले सुदूरपश्चिम प्रदेश सरकारकाे आर्थिक सहयोगमा खरिद गरेको भनिएको वेन्टिलेटर खरिदका क्रममा अस्पताल प्रशासन र अस्पताल विकास समितिका बिचमा पर्याप्त छलफल, परामर्श र सहमतिकाे अभाव छताछुल्ल भएको छ । वर्तमान अस्पताल विकास समितिमा अहिलेसम्म कञ्चनपुरमा इमानदार छवि भएका अध्यक्ष र सदस्यहरु छन् ।

यति पुरानो अस्पताल र झन पछिल्लो समय समितिसँगै कञ्चनपुरका दिग्गज युवाहरु स्वयंसेवी रुपमा स्तरोन्नतिका निमित्त सक्रिय रहेको अवस्थामा वेन्टिलेटर जस्तो संवेदनशील उपकरण खरिदमा देखिएको यसकिसिमकाे नाटकीय प्रपञ्चले अस्पताल विकास समितिकाे अौचित्य र जवाफदेहितामाथि पनि प्रश्नचिन्ह खडा भएको मात्रै छैन बरु निस्वार्थ सेवाभावले स्वयंसेवी भूमिका निर्वहन गरिरहेका कञ्चनपुरका समाजसेवी युवाहरुसँगै अाम नागरिकको मन अमिलो अमिलो भएको छ ।

यद्यपि, समितिमा इमानदार र दृढ इच्छाशक्ति भएका युवाहरु छन्, तथापि यस घटनाकाे प्रकृतिले अस्पताल प्रशासन र विकास समितिकाे अापसी छलफल, परामर्श र सहमतिमा रत्तिभर पर्याप्तता देखिदैन । यस घटनाले आम नागरिकहरु बिच प्रत्यक्ष सराेकारवाला दुवै(अस्पताल प्रशासन र विकास समिति)काे मात्रै होइन कतै विकास समितिभित्रै पनि पर्याप्त छलफल, परामर्श र सहमतिकाे अभाव त छैन भन्ने शंकास्पद वातावरणकाे समेत सिर्जना गरिदिएको छ ।

जबकि, सरकारले नियमित उपलब्ध गराउदै आएका औषधि र अन्य सामग्री बाहेक सामान्य कार्यका लागि पनि अस्पताल प्रशासन, विकास समिति र आवश्यक ठहर गरेमा जानकार एवं कञ्चनपुरमा उपलब्ध सेवा निवृत्त स्वास्थ्यसँग सम्बन्धित विद्वानहरुसँग समेत सल्लाह गरिनु उपयुक्त हुन्थ्यो तर यति महत्त्वपूर्ण उपकरण खरिदका क्रममा देखिएको यस्तो अकर्मण्यता र गैरजिम्मेवारीपनले महाकाली अस्पताल कतै बिचौलियाहरुकाे कब्जामा त छैन भन्ने शंका उब्जाएको छ ।

पचासौं लाखका अति संवेदनशील उपकरण सम्झौता बिनै पठाउने सप्लायर्स नै कसरी छनौटमा पर्‍यो, यसले झन बिचौलियाकाे उपस्थितिलाई स्पष्ट सङ्केत गर्दैन र !
यदि बाहिर समाचारमा अवएजस्ताे तथ्य, सत्य नै हो भने अस्पताल विकास समिति, सराेकारवाला सबै र आम नागरिक समेतले यस्ता कुकृत्यका खिलाफमा तुरुन्तै शुन्य सहनशीलता दर्शाउनुपर्छ ।

 

यदि, कुनै पनि राजनीतिक दल या अन्य शक्तिकाे छत्रछायाकाे आडमा या मिलेमतोमा या दबाव/प्रभावमा यस्तो गरिएको रहेछ भने पनि अस्पताल विकास समितिमा रहनुभएका हामीले आशा र विश्वास गरेका जिम्मेवार युवाहरुले यथार्थ सार्वजनिक गर्ने साहस देखाउने बेला हो याे । यद्यपि, अस्पताल प्रशासनभित्रका केही मान्छेहरु विभिन्न राजनीतिक दलको आडमा अस्पतालको स्तराेन्नति हुन नदिने कृतघ्नतामा लामो समयदेखि सशक्त रुपमा क्रियाशील रहिआएको तथ्य पहिलाका अध्यक्ष र सदस्यहरुले समेत स्विकार्दै आउनुभएकाे छ ।

अहिले वेन्टिलेटर खरिदमा पनि त्यस्तै दुष्टआत्माकाे छाया परेको हो भने अस्पताल विकास समितिले केही गर्न नसके तिनको नाम,थर, वतन हामीलाई बताइदिनुस्, हामी तिनको धमाकेदार नागरिक अभिनन्दन गर्नेछौं । अस्पतालमा समेत कमिसन र राजनीति नछाड्नेहरुलाई जुद्ध शमशेरकालीन सजाय दिदापनि पाप लाग्दैन ।

२ बैशाख २०७७, मंगलवार २३:२७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल